काठमाडौँ । विश्वका नागरिकको प्रवेशद्वार काठमाडौं अहिले दुर्गन्धित छ । लामो समयदेखि चोकचोक, गल्लीमा जथाभाबी फ्याँकिएको फोहोरले पैदल यात्रीलाई नाक थुनेर हिड्न बाहेक विकल्प छैन । यतिबेला स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु त्यहीँ फोहोर कुल्चेर प्रचारप्रसार गरिरहेका छन् ।
काठमाडौंलाई स्वच्छ, सफा र हराभरा बनाउने उनीहरुका योजना र घोषणापत्रलाई त्यहीँ फोहोरले गिज्याइरहेको छ । स्थानीयहरुले सडक निर्माणमा ढिलाइ भएको भन्दै फोहोरका गाडीहरुलाई अवरोध गर्दै आएको सिसडोल ल्याण्डफिल्ड साइडका प्रमुख सरकारदीप श्रेष्ठको भनाइ छ ।
काठमाडौं यति कुरुप बन्दा पनि राजनीतिक दलका नेता, सम्बन्धित क्षेत्रका व्यक्तिहरु कानमा तेल हालेर बस्ने गरेको सर्वसाधारण बताउँछन् । फोहोरको स्थायी विसर्जनका लागि विभिन्न प्रविधि विकसित भइसक्दा पनि नेपालमा भने अझै प्रहरी परिचालन गरी फोहोर व्यवस्थापन गर्नुपर्ने अवस्था छ । आजबाट फोहोर उठाउन शुरु गरिएतापनि भोलि के हुन्छ भन्न नसकिने काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राई बताउनुहुन्छ ।
काठमाडौंबाट दैनिक २ सय भन्दा बढी फोहोरका गाडी सिसडोल पुग्नुपर्ने भएतापनि अहिले त्यो सम्भव भएको छैन । प्रहरी परिचालन गरेर फोहोर व्यवस्थान गर्न लागेको काठमाडौं महानगरपालिकाले सरकारलाई स्थानीयको दिर्घकालीन समस्या समाधानका लागि गुहार्दा पनि उपलब्धि हुन सकेको छैन । मानिस र घरैघरको भार थेगेको राजधानी काठमाडौं फोहोरको दुर्गन्धले कुरुप बन्दै गएको छ ।