काठमाडौं । नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ ।
सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले शनिबार(आज) प्रधानमन्त्रीको सकरारी निवास बालुवाटारमा देउवासँग शिष्टाचार भेट गरेको हो ।
भेटमा प्रधानमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुबीच बहुआयामिक नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचार–विमर्श भएको परराष्ट मन्त्रालयले जनाएको छ ।
नेपाल–अमेरिका मैत्री, दुवै देशका सरकार एवं ससंद्का साथै जनताबीच साझेदारी र सहकार्य प्रवद्र्धनबारेमा पनि विचार आदानप्रदान भएको थियो । प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच जलवायु परिवर्तनजस्ता विश्वव्यापी विषयहरुमा छलफल भएको पनि जनाइएको छ ।
नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले आजै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता गरेको छ । भेटका क्रममा दुवै पक्षले आर्थिक विकासलगायत विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए । दुवै पक्षबीच नेपाल–अमेरिका मैत्री दुई पक्षीय र बहुपक्षीय स्तरमा साझा चासोका मुद्दाबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।