काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किनुभएको छ । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि उहाँ आजबाट काममा फर्किनुभएको हो । सरकारलाई असहयोग गरेको भन्दै मन्त्रिपरिषद् बैठकले उहाँलाई निलम्बन गरेको थियो ।
सरकारको उक्त निर्णयविरुद्धमा अधिकारी सर्वोच्च अदालत पुग्नुभएको थियो । न्यायाधीश हरि फुयाँलको एकल इजलासले अधिकारीलाई पदबाट हटाउने निर्णय कार्यान्वय नगर्न र पदमा रहेर काम गर्न दिन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
सर्वोच्चको आदेशसँगै उहाँ आज राष्ट्र बैंकको कार्यालयमा गएर हाजिर हुनुभएको हो । काममा फर्किनुभएका गभर्नर अधिकारीले सर्वोच्चको आदेश आफ्नो लागि भन्दा पनि समग्र सिस्टमको लागि आएको बताउनुभयो ।
कुनै आग्रह वा पूर्वाग्रह नराखी काम गर्ने प्रतिबद्धता जनाउँदै उहाँले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा समन्वय गरेरै अघि बढ्ने बताउनुभयो । आफूमाथि पूर्वाग्रही भएर अर्थमन्त्रीले गैरकानूनी ढंगले जाँचबुझ आयोग गठन गरेको भन्दै निलम्बन खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।