काठमाडौँ । मुलुकको अर्थतन्त्र धरासायी बन्दै गएका बेला सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि यसको चौतर्फी आलोचना भइरहेको छ । पदीय मर्यादा नाघेको, गोप्य सूचना चुहाएको, कार्यक्षमता कमजोर भएको र समग्र मुलुकको आर्थिक अवस्थानै धरासायी बनाएको आरोप लगाउँदै सरकारले छानबिन सुरु गरेपछि गभर्नर अधिकारी निलम्बनमा पर्नुभएको छ ।
तर सरोकारवालाहरुले भने अधिकारीलाई नियतवस हटाउने षड्यन्त्र गरिएको भन्दै यसले स्वायत्त निकायलाई कमजोर पार्ने बताएका छन् । सरकारको हस्तक्षेप र गलत कदमविरुद्ध उभिएकै कारण गर्भनरलाई निलम्बन गरिएको नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको आरोप छ । यदी सरकार आफ्नो यो निर्णयबाट पछि नहटे यसले देशको अर्थतन्त्र थप धरासायी हुने दाबी गर्दै उहाँले आफ्नो स्वार्थ पूर्तिका निम्ति मुलुकको अर्थतन्त्रमाथि खेलवाड नगर्नसमेत सरकारलाई चेतावनी दिनुभएको छ ।
मुलुकको अर्थतन्त्र आरालो लाग्दै गएपछि नेपालको अवस्थालाई श्रीलंकाको अर्थतन्त्रसँग तुलना गर्ने गरिएको छ । श्रीलंका अहिले कागजसमेत आयात गर्न नसकेर लाखौं विद्यार्थीको परीक्षा नै रोक्नुपर्ने चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । तर अर्थमन्त्री जनार्दन शर्मासहित सत्तारुढ दलका अन्य नेताहरुले श्रीलंकासँग नेपालको अर्थतन्त्र तुलनासमेत गर्न नमिल्ने बताउँदै आएका छन् ।
मुलुकलाई बिग्रिँदो आर्थिक अवस्थाबाट बाहिर निकाल्नका निम्ति तदअनुकूलका नीति तथा निर्णय गर्नुपर्ने भन्दै श्रीलंका हुन दिन्नौं भनेर दाबी मात्र गरेर नहुने पूर्वअर्थमन्त्री पौडेल बताउनुहुन्छ ।
कुनै पनि मुलुकको चालु खाता घाटा कुल गह्र्यस्त उत्पादनको ८ प्रतिशतभन्दा माथि जानुलाई खतराको घण्टी मानिन्छ । अहिले त्यही खतराको घण्टी नेपालमाथि बजिरहेको पूर्वगर्भनर एवं पूर्वअर्थमन्त्री युवराज खतिवडा बताउनुहुन्छ । वर्तमान गठबन्धन बने लगत्तैदेखि आर्थिक क्षेत्रमा गडबडी सुरु भएको उहाँको दाबी छ ।
सरकारले नचाहिने चिजको आयातलाई बढवा दिएको, बजेटमा खेल्न खोज्दा २/३ महिनाको समय यसै खेर गएको र महिनाको १० प्रतिशतले पुँजीगत खर्च गर्ने जस्ता उत्पट्याङ वक्तव्यबाजी मात्र सरकारले गरेको एमालेको टिप्पणी छ । प्रदेशको वित्तिय स्थिति पनि डामाडोल रहेको पूर्वअर्थमन्त्री खतिवडाको दाबी छ ।
यस्तै, एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माले कानून विपरीत काम गरिरहेको भन्दै आफ्नै गलत कामका कारण भाग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिनुभएको छ । अर्थमन्त्री शर्माले विदेशबाट आएको अवैध रकम छुटाउन दबाब दिनु गम्भीर अपराध भएकाले यसको छानबिन हुनुपर्ने भन्दै उहाँले गभर्नरलाई पत्र लेखेको बिषयमा जेल हाल्नुपर्नेसमेत बताउनुभएको छ ।
एक व्यापारीका नाममा विदेशबाट शंकास्पद रूपमा आएको ४० करोड रुपैयाँ राष्ट्र बैंकले रोकिदिएपछि छुटाउन अर्थमन्त्री शर्मा आफैं अघि सरेर गर्भनरलाई पत्र लेखेको आरोप छ ।
सरोकारवालाले गर्भनर अधिकारी निलम्बन गर्ने सरकारको कदमको सर्वत्र विरोध गरिहेका बेला सभामुख अग्नि सापकोटाले भने सबै मिलेर निकास खोजिनुपर्ने बताउनुभएको छ । ‘आलोचना गर्न र सुझाव दिन जसले पनि सक्छ’ भन्दै उहाँले मुलुकका जुनसुकै समस्या पनि सबै पक्षबीचको वार्ता र संवादद्वारा नै हल हुने बताउनुभयो ।
पाँच दलीय गठबन्धनले सत्ता सम्हालेपछि अर्थमन्त्रलय सम्हाल्ने जिम्मेवारी पाउनुभएका शर्मा र गभर्नर अधिकारीबीच कहिल्यै पनि सौहार्द सम्बन्ध हुन सकेका थिएन । मुलुकका आर्थिक परिसूचकहरु कमजोर बन्दै गएका बेलासमेत अर्थमन्त्री र गभर्नरबीच छलफलै भएन । अन्ततः गर्भनर अधिकारीमाथि छानबिन गर्न थालेर निलम्बनमा पारियो । यसलाई प्रतिपक्षी दलले मात्र होइन, अन्य विज्ञहरुले पनि राम्रो संकेत नभएको बताएका छन् ।