काठमाडौँ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । आइतबार(आज) सर्लाहीको फुलजोरमा यात्रुबाहक बस पुलबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । बसमा सवार ३२ जनाभन्दा बढी यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आज वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर खोलामाथि बनेको पुल साँघुरो भएकाले टाटासुमोलाई साइड दिने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन ।
मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र दुर्घटनामा घाइते भएकाहरुको लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।