काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । उहाँले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम काम गरिरहेको बताउनुभयो ।
आज मन्त्रालयमा एसियाली विकास बैंक (एडिबी)का प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले मन्त्रालयलाई एडिबीबाट हुने सहयोगका योजना द्रुत गतिमा अघि बढाउन आग्रह गर्नुभयो । ‘हामीसँग समय सीमित छ, गर्नुपर्ने कामहरू धेरै छन् । सकेसम्म सीमित अवधिमा पनि धेरै काम गरौँ भन्ने पक्षमा छौँ’, उहाँले भन्नुभयो, ‘एडिबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिटो होस हाम्रो चाहना छ ।’
मन्त्री झाँक्रीले राष्ट्रिय शहरी नीति परिमार्जन तथा शहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै यसले संघीयता अनुसारका शहरीकरणका परियोजनामा सहकार्य गर्ने बाटो खोल्ने बताउनुभयो । उहाँले नेपालमा लगानी गर्न सकिने थुप्रै क्षेत्र रहेको र सीमित स्रोत साधनको बाबजुध काम गरिरहेको बताउनुभयो ।
पूर्वाधारमा हाल भइरहेका काम र आगामी दिनमा सहकार्य गर्न सकिने लगानीको क्षेत्रको विषयमा मन्त्री झाँक्री र एडिबीका प्रतिनिधिबीच छलफल भएको हो । छलफलमा मनिलास्थित एडीबीका प्रतिनिधि केनिचि याकोयामाले मन्त्रालयसँग आफूहरू सधैं सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले समयमै काम सक्नमा ध्यान दिनुपर्ने बताउनुभयो ।