Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् : स्वास्थ्यमन्त्री

सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् : स्वास्थ्यमन्त्री

  • मंगलवार, श्रावण २७ २०७७

  • 697
    SHARES

  • सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् : स्वास्थ्यमन्त्री

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरूको मति सप्रियोस् भन्दै शुभकामना दिएका छन् ।

    उनले  पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरूले कोभिड– १९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेका भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैको मति सप्रियोस् भन्ने शुभकामना दिएका हुन् ।

    मंगलबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले मति बिग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारीविरुद्ध लड्न मति सप्रियोस् भन्दै शुभकामना दिएका हुन् ।

    उनले भने, ‘आजको यो कृष्ण अष्टमीको दिन मति बिग्रिएकाहरूका लागि पनि यो महामारीका विरुद्ध लड्नका निमित्त मति सुध्रियोस् भन्ने शुभकामना दिन चाहन्छु । चाहे ती मेरा घरभित्र बसेका हुन् चाहे ती मेरा छिमेकमा बसेका व्यक्तिहरू हुन् ।

    सरकारको आलोचना गरेर लडाइँको अभियानमा लागेको योद्धाहरूको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गर्ने कुरामा र महामारीलाई कमजोर बनाउनका निम्ति योगदान पुऱ्याउन सक्दैनन् ।’

    उनले महामारीबाट बाँचियो भने सत्ताको लडाइँ फेरि पनि खेल्न सकिने भन्दै सकारलाई सघाउन नेताहरूलाई आग्रह गरे । सरकारलाई जनताले पाँच वर्षको म्यान्डेेट दिएकाले पाँच वर्षपछि नै सत्ताको खेलमा लाग्नसमेत आग्रह गरे ।

    उनले भने, ‘बाँचियो भने सत्ता प्राप्ति गर्ने लडाइँ फेरि पनि खेल्न सकिन्छ । किनभने सत्ताका निमित्त लड्ने यो नै अन्तिम युद्ध होइन । पाँच वर्ष जनताले म्यान्डेट दिएकै छन् । म्यान्डेटपछि त्यो खेलमा लाग्दाखेरि पनि केही बिग्रिँदैन ।

    स्थिरताको नारा दिएर अस्थिरताको योजना बनाएर हिँड्ने मित्रहरूलाई पनि म आग्रह गर्न चाहन्छु, वेलाअनुसार हाम्रा वचन र व्यवहार गरिएन भने जनताले त्यही ढंगले हामीलाई निगरानी गरिराखेका हुन्छन् ।

    जनताको नजरमा हामी परीक्षामा नै छौँ । सबैले जनताबाटै उत्तीर्ण हुनुपर्छ भन्ने कुरालाई मध्यनजर राखेर नै हामीले काम गर्न सकियो भने हामी यो लडाइँलाई सहजतापूर्वक समाधान गर्न सक्छौँ ।’

    उनले कोरोना रोकथामका लागि सरकारको विरोध विभिन्न तरिकाबाट हुने गरेको बताए । उनले कुनै वेला पिपिई भएन भने सामूहिक राजीनामा दिन्छौँ भन्नेहरू अहिले चुप लागेको बताए । त्यस्तै गीतबाट समेत सरकारको आलोचना गरिएको, तर अहिले त्यसको जवाफ सरकारले दिइसकेको बताए ।

    अहिलेसम्म पिपिई र पिसिआरको गीत आएको र अब ती चल्न छाडेपछि औषधि र भेन्टिलेटरका गीत आउने उनले बताए । उनले जस्तोसुकै गीत आए पनि त्यसको जवाफ सरकारले सिद्धान्तबाट नभई व्यवहारबाट दिने प्रस्ट पारे ।


    मंगलवार, श्रावण २७ २०७७०३:००:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij