काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ । सुनुवाइका लागि न्यायाधीशहरू मीरा खड्का र डा.कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
प्राधिकरणकै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रिट निवेदन दिनुभएको हो । १ भदौमा उहाँले वारेसमार्फत घिसिङविरुद्ध अदालतमा रिट दायर गर्नुभएको थियो ।
रिटमार्फत शाक्यले २४ साउनमा घिसिङलाई कार्यकारी निर्देशक बनाउन सरकारले गरेको निर्णयलाई उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गर्नुभएको छ ।
शाक्यको पदावधि नसकी हटाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको जिकिर छ । उहाँ २७ माघ २०७७ मा कार्यकारी निर्देशक नियुक्त हुनुभएको थियो । चार बर्से अवधि भए पनि उहाँ ६ महिनामै उक्त पदबाट हटाइनुभएको थियो । त्यसपछि उहाँ सर्वोच्च पुग्नुभएको हो ।
तर, उहाँको मागअनुसार ५ असोजमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णय बदर भने गरेन । कारण देखाउ आदेश मात्रै जारी गरेको थियो ।