काठमाडौँ । बर्डफ्लु देशभर फैलिने क्रम जारी छ । पछिल्लो पटक पोखरामा पनि बर्डफ्लु पुष्टि भएको छ । पोखरा महानगरपालिका–१५ र १७ का घरपालुवा कुखुरा र हाँसमा बर्डफ्लुको संक्रमण भेटिएको हो । ती वडामा बुधबार २ सयभन्दा बढी कुखुरा, हाँस र बट्टाईलगायतलाई दिइने दाना तथा अन्य पक्षीजन्य पदार्थ नष्ट गरिएको जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति कास्कीका सञ्चार अधिकृत ग्रीष्म न्यौपानेले जानकारी दिनुभयो ।
ती स्थानमा फागुन २७ गतेसम्म पक्षी र पक्षीजन्य पदार्थको ओसारपसारमा समेत रोक लगाइएको उहाँले बताउनभुयो । पोखरा–१५ सीताराम पुल नजिक सिद्धिमार्ग अलस्कापुर टोलका खुशीमान गुरुङ र पोखरा–१७ घारीपाटन हिमाल दूध डेरी नजिक खेमबहादुर क्षेत्रीले पालेको स्थानीय जातका कुखुरामा बर्डफ्लु भाइरस देखिएको हो ।
स्थानीयवासी खुशीमान र खेमबहादुरले घरमा पालेका कुखुरा र हाँस धमाधम मर्न थालेपछि जिल्ला प्रयोगशालामा ल्याई परीक्षण गर्दा पोजेटिभ देखिएसँगै थप परीक्षणका लागि काठमाडौँ पठाइएकामा एकैदिन फागुन १५ गते दुवै स्थानमा सङ्क्रमण पुष्टि भएको हो । यसअघि काठमाडौं, चितवन तथा उदयपुरमा समेत बर्डफ्लु पुष्टि भइसकेको छ ।