काठमाडौँ । चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो ।
पाँच दशकअघि गायन यात्रा शुरू गर्नुभएका ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक लामाको निधन भएको हाँस्य कलाकार शिवहरि पौडेलले जानकारी दिनुभयो ।
लामाका कलकत्ते काइँयो, पानी प¥यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, पानको पात जस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन् ।
एक सयभन्दा बढी चलचित्रमासमेत अभिनय गरिसक्नुभएका लामाले २०३० सालमा ‘मनको बाँध’बाट चलचित्रमा अभिनय यात्रा सुरू गर्नुभएको थियो । पछिल्लो समय हाँस्य टेलीश्रृंखला ‘हल्का रमाइलो’मा उहाँले अभिनय गर्दै आउनुभएको थियो ।