काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले गएराति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको हो । मूल्य बढाएपछि पेट्रोल प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
खाना पकाउने (एलपी) ग्यास र हवाई इन्धनको मूल्य भने नबढाइएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले बताउनुभयो । मूल्य बढाउँदा पनि निगमलाई १५ दिनमै २ अर्ब १५ करोड रुपैयाँ घाटा यथावत नै रहेको निगमको दाबी छ ।
यसअघि निगमले गत माघ १८ मा मूल्य बढाएर हालसम्मकै महँगो बनाएको थियो । त्यो रेकर्ड फेरि तोडिएको छ । नेपाल आयल निगमले बुधबार मात्रै प्राप्त मूल्य सूची अनुसार भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएको जनाएको थियो ।