काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कोरोना नियन्त्रणमा प्रभावकारी काम हुन नसकेकोभन्दै सवैप्रति आक्रामक हुनुभएको छ । कोरोनाबाट सवैभन्दा धेरै प्रभावित भएको प्रदेश २ मा सर्वाधिक चिन्ता र चासो बढीरहेका बेलामा मुख्यमन्त्री राउतले भने अरुप्रति रुष्ट र आक्रामक हुनुभएको छ ।
उहाँले कोरोना नियन्त्रणका लागि आफुलाई केन्द्र सरकारदेखि स्थानीय प्रशासनसम्मले पर्याप्त सहयोग नगरेको आरोप लगाउनुभयो ।
आफुले सवै निकाय तथा कार्यालयहरुलाई बजेट पठाउने, काम गर्न लगाउने, छलफल गर्ने, सम्पर्क गर्नेलगायतका प्रयासहरु गरेपनि अरुले वेवास्ता गरिरहेको उहाँको भनाई छ ।
“केन्द्र सरकार जुन तरिकाले तत्नु पर्ने हो तातेकै छैन, स्थानीय प्रशासनहरुको पनि काम गराई उस्तै पाराको छ, उनीहरु सवै निकम्बा भएका छन्, नीजि क्षेत्र झन गै्रह जिम्मेबार देखिएको छ,” नेपाली वहसमा पत्रकार ऋषि धमलासँग मुख्यमन्त्री राउतले भन्नुभयो ।
उहाँले नीजि मेडिकल कलेजहरुका विरुद्धमा खरो आक्रोश व्यक्त गर्नुभयो । उनीहरुलाई सरकारले अनेक सुविधा दिएको, तर सुविधा उपयोग मात्र गर्ने, सेवा नगर्ने भइरहेको उहाँको भनाई छ ।
सरकारी सेवा लिने जनतालाई सेवा नदिने नीजि अस्पतालहरुलाई तालाबन्दी मात्रै नभई खारेज नै गर्नु पर्ने पक्षमा आफु रहेको उहाँले स्पष्ट पार्नुभयो ।
नीजि अस्पतालहरुले कम्तीमा २० प्रतिशत सेवा कोरोनाका विरामीलाई गर्ने भन्ने सहमती आफुले गराएपनि केन्द्र सरकारले त्यसलाई पूर्णता नदिएको उहाँको गुनासो छ ।