काठमाडौँ – भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्धको जन्मभूमिबारे मन्त्री एस जयशंकरको विवादास्पद अभिव्यक्ति सच्याउँदै बुद्ध नेपालको लुम्बिनीमा जन्मेको कुरामा कुनै शंका नरहेको बताएको छ । मन्त्री जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा भएको पनि भारतको विदेश मन्त्रालयले बताएको छ ।
मन्त्री जयशंकरले हिजो आयोजित एक भर्चुअल सम्मेलनमा गौतम बुद्ध भारतीय नागरिक रहेको दाबी गर्नुभएको थियो । ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ’, भारतीय विदेश मन्त्रालयले आज वक्तव्य जारी गरेर भनेको छ ।
भगवान गौतम बुद्ध भारतीय नागरिक रहेको भन्दै भारतका विदेश मन्त्री एस जयशंकरले दिएको अभिव्यक्तिको नेपाल सरकारले खण्डन गरेलगत्तै भारतले मन्त्री जयशंकरको अभिव्यक्ति सच्याएको हो । बुद्ध नेपालमा जन्मेको प्रमाणित ऐतिहासिक तथ्यमा बहस गर्न आवश्यक नै नरहेको नेपालको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ ।
भारतीय विदेशमन्त्री जयशंकरले शनिबार गौतम बुद्ध भारतीय नागरिक रहेको दाबी गर्नुभएको थियो । उहाँले गौतम बुद्ध र महात्मा गान्धीलाई विश्वले महान भारतीयका रूपमा चिन्ने गरेको बताउनुभएको थियो ।
भारतीय विदेशमन्त्री जयशंकरको यो अभिव्यक्ति भा्रमक रहेको भन्दै नेपालमा चर्काे विरोध भएको थियो । विभिन्न राजनीतिक पार्टीका नेताहरुले भारतीय विदेशमन्त्रीको अभिव्यक्तिको निन्दा गरेका थिए । राजनीतिक तह र नागरिक स्तरबाट समेत यसको चर्को आलोचना भएका बेला सरकारले परराष्ट्र मन्त्रालयमार्फत बुद्ध नेपालमा जन्मेको ऐतिहासिक तथ्यमा बहस गर्न आवश्यक नै नरहेको बताएको हो ।
यसअघि सन् २०१४ मा नेपाल भ्रमणमा आएका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदलाई सम्बोधन गर्ने क्रममा पशुपतिको चरणमा उभिएर आफूले बोलिरहेको बताउँदै नेपालको भूमिले विश्वलाई अचम्मित गर्ने भगवान बुद्धलाई जन्म दिएको बताउनुभएको थियो ।
तर मोदीले नेपालको संसदमा नै उभिएर नेपाललाई बुद्ध जन्मेको भूमिका रुपमा व्याख्या गरे पनि भारतीय राजनीतिज्ञका तर्फबाट बेला बेला बुद्ध जन्मभूमिबारे भ्रामक अभिव्यक्तिहरु सार्वजनिक भइरन्छन् ।
भारतका तर्फबाट बेला बेला आइरहने यस्ता अभिव्यक्तिहरु नेपालप्रतिको हेपाहा प्रबृत्तिको निरन्तरता रहेकोले अब प्रतिवाद गर्नुपर्ने नेपाली कांग्रेसका नेता धनराज गुरुङको भनाई छ । उहाँले इतिहासको ज्ञान नभएका भारतीय नेताहरुले बुद्धबारे भ्रामक अभिव्यक्तिहरु दिइरहेको बताउनुभयो ।
सीमा विवाद र राम जन्मभूमिबारे नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिका कारण चिढिएको भारतले बुद्धबारे फेरि भ्रामक प्रचार गरेको हुन सक्ने कतिपय राजनीतिक विश्लेषकहरुको भनाई छ । तर यस्ता आवेगात्मक अभिव्यक्तिले दुवै राष्ट्रलाई कुनै फाइदा नपुग्ने उनीहरुको भनाई छ ।
विश्लेषक लोकराज बरालले अयोध्याबारे नेपालका प्रधानमन्त्री ओलीको र बुद्धबारे भारतका विदेशमन्त्री जयशंकर दुवैको अभिव्यक्तिमा लगाम आवश्यक रहेको टिप्पणी गर्नुभयो ।
सीमा विवादबारे नेपाल र भारतबीच सुरु भएको विवाद अहिले पौराणिक र ऐतिहासिक पात्रसम्म पुगेको छ । वर्तमान अवस्थामा पौराणिक विषयहरुमाथि झगडा निम्त्याउनु दुवै देशका लागि हितकर हुने छैन ।