Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

एमसीसी पारित गर्ने कांग्रेस संसदीय दलको निर्णय

एमसीसी पारित गर्ने कांग्रेस संसदीय दलको निर्णय

  • मंगलवार, फाल्गुण ३ २०७८

  • 651
    SHARES

  • एमसीसी पारित गर्ने कांग्रेस संसदीय दलको निर्णय

    काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेको छ। मंगलबार(आज) बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले अमेरिकी सहयोग सम्बन्धि सम्झौता मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) पास गर्ने निर्णय गरेको हो।

    नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गरेको र सो प्रस्तावलाई संसदमा टेबल गरेर अनुमोदनको प्रकृयामा अघि बढाउनु पर्ने निर्णय बैठकले गरेको जानकारी दिए।

    '२०७५ माघ २५ गते केपी शर्मा ओलीको नेतृत्वमा रहेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र मिलिनियम च्यालेन्ज कर्पोरेसनबीचमा भएको अनुदान सम्झौतालाई अनुमोदनका लागि मन्त्रिपरिषद्‌मा पेश गर्ने र अनुमोदन भइसके पछाडि दातृ निकायलाई जानकारी गराउने भनेर जुन प्रस्ताव पारित गर्योग। त्यसअनुसार २०७६ असार ३० गते अनुमोदनका लागि संसद्‌मा दर्ता गरायो,' संसदीय दलको बैठकपछि थापाले भने, 'त्यो दर्ता गरेको प्रस्तावलाई हामीहरुले प्रतिपक्षमै रहँदा २०७६ पुस १५ गते छलफलमा लगेर अनुमोदन गर्नुपर्छ भनेको निर्णयलाई स्मरण गर्दै आज नेपाली कांग्रेसको संसदीय दलले सो प्रस्तावलाई तत्काल संसद्‌मा टेबल गरेर अनुमोदनको प्रक्रिया अगाडि बढाउनुपर्छ भनेर माग गर्ने निर्णय गर्यो।'

    उनले सबै दल एमसीसी पास गर्ने पक्षमा उभिने विश्वास लिएको बताए। 'त्यतिबेला (२०७५ माघ २५ गते) मन्त्रिपरिषद्‌मा रहेका सम्पूर्ण राजनीतिक दलहरु अहिले फरकफरक दलमा हुनुहुन्छ, एमाले, माओवादी र जसपामा। उहाँहरुको यो प्रस्तावको पक्षमा उभिनुहुन्छ भन्ने विश्वास पनि संसदीय दलले गरेको छ' थापाले भने। 

    कांग्रेस संसदीय दलको बैठकमा पूर्व अर्थमन्त्री रामशरण महतले एमसीसी सम्झौतामा रहेका व्यवस्थाबारे सांसदहरुलाई जानकारी दिएका थिए।

    बैठकमा कांग्रेस नेताहरुले एमसीसीबारे जनतामा भ्रम छरिएको भन्दै त्यसलाई चिर्न सांसदहरुलाई आग्रह गरेको थियो। कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा तत्काल एमसीसी संसदमा टेबल गर्ने पक्षमा रहेका छन्।

    उनले कार्यव्यवस्था समितिको बैठक बोलाउन सभामुख सापकोटालाई आग्रह गरेका छन्। भोलिको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल हुने सम्भावना रहेको कानुन मन्त्री दिलेन्द्र बडुले बताए।

    एमसीसी टेबल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तयार रहेको उनले बताए। तर दुवै नेताले हिजो सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा भने एमसीसी संशोधनको पक्षमा भनाइ राखेका थिए।


    मंगलवार, फाल्गुण ३ २०७८०१:५३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij