काठमाडौं । नेपालमा कोरोना संक्रमण हालसम्मकै उच्च देखिएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले आज भएको संक्रमण पुष्टि हालसम्मकै उच्च भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो ।
उहाँका अनुसार कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणबाट ९ हजार ५०२ र एन्टिजेन परीक्षणबाट १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरमा गरी ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरी ६१३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।