काठमाडौँ – सरकारले कोरोना भाइरसको महामारी खतरनाक चरणमा पुग्न थालेको भन्दै अत्यन्त होसियारीपूर्वक सावधानीका उपायहरु अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित घना बस्ती भएका क्षेत्रमा कोरोना भाइरसको संक्रमण दर बढ्दै जाँदा अप्ठ्यारो परिस्थिति सिर्जना भएको जनाएको हो।
संक्रमण दर बढ्दै जान थालेकोले अब अस्पतालले धान्न नसक्ने अवस्था सृजना हुने भन्दै बेलैमा सचेत हुनु पर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । उपत्यकालगायत घना बस्ती भएका क्षेत्रमा संक्रमणको दर बढेकाले अस्पतालमा बेड, उपकरण, स्वास्थ्यकर्मी लगायतको अभाव हुने सम्भावना देखिएको बताउँदै डा. गौतमले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गर्नुभयो ।
अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन, कम्तीम दुई मिटरको दूरी कायम गर्न, मास्कको प्रयोग अनिवार्य गर्न, साबुनपानीले हात धुन तथा सेनिटाइजर प्रयोग गर्न सरकारले आग्रह गरेको छ । यसका साथै सरकारी, सामुदायिक तथा निजी कार्यालयहरुमा बैठक, गोष्ठी, सेमिनार तथा अन्य जमघट तुरुन्त बन्द गर्न र बन्द गर्न नमिल्ने भए भर्चुअल माध्यमको प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । यस्तै भारतीय सीमा क्षेत्रका जिल्लामा संक्रमणको दर उच्च रहेकाले प्रदेश सरकार तथा स्थानीय पालिकाहरुलाई साबधानी अपनाउन प्रवक्ता गौतमलेले आग्रह गर्नुभयो ।
स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्न विश्व स्वास्थ्य संगठनले अपिल गरिरहेको भए पनि नेपालमा उच्च पदस्थ व्यक्तिहरुबाट नै त्यसको उल्लंघन भएका पाइएको छ । अनिवार्य रुपमा मास्क लगाउने कुरामा सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नै लापर्वाही गरिरहनुभएको छ ।
नियमको पालना गर्न आदेश दिनेहरु आफैले नै त्यसको पालना नगरेपछि जोखिम मुलुकको सर्वाेच्च प्रशासनिक निकाय सिंहदरबारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्मै कोरोना संक्रमणको जोखिम बढेको छ । तर काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य आफूहरुको आदेश नमानेन्ने नागरिकले महामारी फैलाएको आरोप लगाउनुहुन्छ । उहाँले सरकारी राजश्वबाट खर्च हुने गरी पीसीआर परीक्षण भइरहेको कार्यप्रति पनि विरोध जनाउनुभयो ।
कोरोना संक्रमणले दिनानुदिन आक्रामक रुप लिइरहेका बेला जनतामा ठूलो त्रास सृजना भएको छ । विज्ञहरुले कोरोनाबाट बच्न कडा खालको लकडाउन कम्तीमा पनि तीन हप्तासम्म लागू गर्नुपर्ने सुझाव सरकारलाई दिएका छन् । तर अर्थतन्त्र धान्न नसकिने भन्दै सरकार अब लकडाउन गर्ने पक्षमा छैन । सरकारका प्रवक्ता समेत रहनुभएका अर्थमन्त्री युवराज खतिवडाले अहिले नै देशव्यापी लकडाउनबारे सरकारले केही नसोचेको बताउनुभयो । बढी प्रभावित क्षेत्रमा निशेज्ञाज्ञाको अधिकार स्थानीय प्रशासनलाई नै रहेको उहाँले बताउनुभयो ।
लकडाउन लागू गरिएका बेला त्यसको इमान्दार पालना गरेर सरकारलाई सहयोग गरेका नागरिकलाई अहिले राज्यका निकायहरुले सरकारी आदेशको पालना नगरेर कोरोनाको संक्रमण फैलाएको आरोप लगाइरहेका छन् । तर लकडाउन अन्त्य भएको घोषणासँगै सरकारले परीक्षण कम गरेर कोरोना संक्रमितको दर घटेको झुटो विवरण सार्वजनिक गर्दै जनतामा भ्रम सृजना गरेको यर्थात सोचनीय विषय बनेको छ । स्मरण रहोस् स्वास्थ्य मन्त्रालयले दिनदिनै कोरोना संक्रमणको दर घटेको बताउन थालेपछि नागरिकहरुको घरबाहिर निस्कने क्रम बढेको हो ।