काठमाडौं । पछिल्लो समय दिन प्रतिदिन कोरोना संक्रमण बढेसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाका अनुसार कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिईने छ ।
उहाँले सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई दृष्टिगत गर्दै माघको पहिलो हप्ताबाट अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक मात्राको खोप लगाउने बताउनुभयो ।
नेपालमा अहिले परीक्षण गराएकामध्ये कोभिड–१९ संक्रमण ८.४९ प्रतिशतमा देखिएको छ । हिजो शुक्रवार मात्र १४ हजार ९७१ जनामा परीक्षण गर्दा ९६८ र शनिवार पनि ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । खोप लगाउन तिव्र्रता दिनुपर्नेमा सरुवा रोग विशेषज्ञ डाक्टर शेर वहादुर पुन जोड दिनुहुन्छ ।
संक्रमण रोकथामका लागि तत्काल कदम चाल्न उपत्यकाका सीडीओहरु बैठक बसेर छलफलमा जुट्ने भएका छन् ।काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेर स्मार्ट लकडाउन कार्यविधिअनुसार संक्रमण रोकथामबारे निर्णय गर्ने काठमाडौंका सीडीओ गोविन्दप्रसाद रिजालले बताउनुभयो ।
सोमबारभित्र बस्ने तीनै प्रशासनको बैठकले भीडभाड हुने क्षेत्रलाई नियन्त्रण गर्नेतर्फ निर्णय गर्ने उहाँले बताउनुभयो ।कोरोना संक्रमण बढदै गएको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवा पनि आइसोलेशनमा बस्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएपछि उहाँसँग सम्पर्कमा रहनुभएका प्रधानमन्त्री देउवा स्वास्थ्य प्रोटोकलअनुसार आइसोलेसनमा बस्नुभएको हो ।