काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले पार्टी र देशकै अभिभावकको रुपमा रहेकोले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताउनुभएको छ ।
पार्टी र देशकै अभिभावक भएकोले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई नै पार्टी नेतृत्वको जिम्मेवारी दिएको उहाँले बताउनुभयो ।
उहाँले पार्टीमा अन्य पदाधिकारीहरू कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकोले सक्षम व्यक्तिहरूलाई चयन गरेर नेतृत्व दिनुपर्नेमा जोड दिनुभयो ।
नेता गुरुङले आउँदो पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीहरूको बारेमा टुंगो लगाउने जानकारी दिनुभयो । उहाँले पदाधिकारी चयनको विषयमा केही गृहकार्य बाँकी रहेकोले सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
नेता गुरुङले वर्षमान पुन (अनन्त) र जनार्दन शर्मा (प्रभाकर)को महासचिवमा दाबेदारी आइरहेकोले सहमतिमा लैजाने प्रयास भइरहेको नेता गुरुङले बताउनुभयो । दुईबीच सहमति हुन नसके पार्टीका वरिष्ठ नेताहरूमध्ये तेस्रो सहमतिको उम्मेदवार खोज्नुपर्ने सहमतिमा जाने उहाँको जानकारी गराउनुभयो ।
नेता गुरुङले आफूले हालसम्म पार्टीका कुनै पदमा दाबी नगरेको भन्दै सहमति मिलाउन महासचिव बन्ने प्रस्ताव आए अस्वीकार नगर्ने र तोकिएको जिम्मेवारी पूरा गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।
नेता गुरुङले पार्टीका पदाधिकारीका लागि निर्वाचन गरिनु नहुने भन्दै पदाधिकारीहरू सहमतिमै चयन गर्न आग्रह गर्नुभयो । उहाँले पदाधिकारीका लागि गरिएको निर्वाचनले क्षणिक समय लाभ मिले पनि अन्ततः पार्टी विघटनको स्थितिमा पुग्ने दाबी गर्नुभयो ।