काठमाडौं। नेपाली काँग्रेसका प्रभावशाली नेता डा चन्द्र भण्डारीले गुट र उपगुटका कारण सवै राजनीतिक पार्टीमा विचार कमजोर भएको बताउनु भएको छ ।
उहाँले हरेक पार्टीमा विचारभन्दा गुट उपगुटको चलखेल बढी हावी भएकाले राजनीतिक विकृती बढेको तर्क गर्नुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, पार्टीमा विचार, सिद्धन्तका ऐजेण्डा छलफलको केन्द्र विन्दुमा पर्नै छाडे, सवै व्यक्तिवादी र गुटवादी भए ।
उहाँले पुराना नेताहरुको गुटबन्दी र सिन्डीकेटका कारण नयाँ र युवा नेताहरुलाई नेतृत्वमा पुग्न धेरै गाह्रो रहेको बताउनुभयो । युवा नेताहरु पनि उस्तै रहेको आरोपका बारेमा प्रष्ट पार्दै उहाँले भन्नुभयो, युवा नेताको परिभाषा उमेरका आधारमा हैन, विचारका आधारमा गरिनुपर्दछ ।
उहाँले सवै पार्टीमा उमेरले युवा तर विचारमा दास र पुरातन मानसिकताका युवाहरुले गर्दा पनि राम्रा युवाहरुले अवसर पाउन नसकेको तर्क गर्नुभयो ।