काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिमा पराजित नेता शेखर कोइरालाले कांग्रेस सुधारको प्रक्रियालाई अगाडि बढाउने थप जिम्मेवारी आफ्नो काँधमा आएको बताउनुभएको छ। शुक्रबार (आज) एक विज्ञप्ति जारी गर्दै नेता कोइरालालाले महाधिवेशनबाट प्राप्त मतले आफूलाई थप जिम्मेवारी दिएको बताएको हो ।
पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वभाविक रुपमा लिदै कांग्रेस रुपान्तरणको एजेन्डामा निरन्तर क्रियाशील हुने उहाको भनाइ छ ।
नेता कोइरालाले कांग्रेस परिवर्तनको पक्षमा उभिने आफूहरु मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही नहुने उल्लेख गर्नुभएको छ ।
पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वभाविक रुपमा लिदै कांग्रेस रुपान्तरणको अजेन्डामा निरन्तर कृयाशिल हुनेछौँ’ उहाले विज्ञप्तिमा भन्नुभएको छ ।
आफू पराजित भए पनि प्रतिनिधि र लोकतन्त्रवादीहरुको “मन” जित्न सफल भएको उहाले उल्लेख गर्नुभयो । ’पार्टी भित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि हामीले कांग्रेसप्रति आकर्षण बढाएका छौँ, भरोसा र विश्वासको वृद्धि गराएका छौं’ विज्ञप्तिमा कोइरालाले भन्नुभएको छ ।
आफूलाई प्राप्त मतले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी काँधमा आएको उहाले उल्लेख गर्नुभएको छ । पार्टी भित्र रुपान्तरण र परिवर्तनको यो लडाई सहज नभएको बताउँदै उहाले आफूहरु पार्टी भित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रबृति, गलत संस्कृति र संस्कारको विरुद्ध लडिरहेको उल्लेख गर्नुभएको छ ।