काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले आफूले महामन्त्री पदमा मात्र नभई सभापति पदमा पनि भोट माग्ने बताउनुभएको छ ।
बिहीबार महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएका उहाँले आजसम्म आफ्नो सभापतिको उम्मेदवार नटुंगिए पनि मत हाल्ने दिनसम्म सभापतिका लागि पनि भोट माग्ने बताउनुभएको हो ।
‘मेरो सभापतिका को हुनुहुन्छ मलाइ पनि थाहा छैन, तर म आफ्ना लागि मात्र मत माग्दिनँ । मैले सभापतिमा जसलाई मत हाल्छु, उसको लागि पनि मत माग्छु’ उहाँले भन्नुभयो । पार्टीको मूल नेतृत्व सभापति नै हो भन्दै उहाँले पार्टीलाई आफूले भनेजस्तो देख्ने र सुन्ने बनाउनका लागि पनि मूल नेतृत्व राम्रो चाहिने बताउनुभयो ।
आफू महामन्त्रीमा निर्वाचित भएको दिनदेखि राजनीतिक परीक्षा सुरु हुने भन्दै थापाले परीक्षा उतीर्ण भए त्यो भन्दा ठूलो जिम्मेवारी लिन अघि सर्ने टिप्पणी गर्नुभयो । ‘कांग्रेससँग प्रश्न होइन, उत्तर हुन्छ । कांग्रेससँग समस्या होइन समाधान हुन्छ । जनतालाई रुख चिह्नमा मत हालौं हालौँ लाग्छ र शानदार ढंगले चुनाव जितेर आउँछ’ थापाले आफू महामन्त्री निर्वाचित भएपछिको कांग्रेसबारे भन्नुभयो ।
आफूले सडक, संसद र सरकारमा रहँदा कांग्रेस कार्यकर्ताको शीर झुक्नुपर्ने काम नगरेको भन्दै थापाले महामन्त्री निर्वाचित भएको चार वर्षसम्म गलत व्यक्ति छानिएछ भन्नु नपर्ने बताउनुभयो ।