काठमाडौँ । साताको तेस्रो दिन मंगलबार(आज) पनि सेयर बजार घटेको छ । यस दिन सेयर बजार मापन नेप्से परिसूचक १ दशमलव ६४ अंकले घटेर २ हजार ६ सय २८ दशमलव ३७ अंकमा झरेको छ । अघिल्लो दिन सूचक २१ दशमलव ५१ अंकले घटेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार हिजोको तुलनामा आज कारोबार रकम पनि घटेको छ । हिजो चार अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज ३ अर्ब ८ करोड ९० लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका २२५ कम्पनीका ६४ लाख ४७ हजार ४४९ कित्ता सेयर किनबेच भएका छन् । आज ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक बढेको छ । आज यो परिसूचक ० दशमलव १८ अंकले बढेर ४ सय ९५ दशमलव ६३ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका दुई कम्पनीको सेयर कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ । न्यादी जलविद्युत् कम्पनी र सामलिङ पावर कम्पनीको सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको हो ।
आज १३ मध्ये ६ उपसमूह बाहेक बाँकी सबै उपसमूहको सूचक घटेको छ । आज उत्पादन तथा प्रसोधन समूहका लगानकर्ताले सबै भन्दा धेरै गुमाएका छन् । यस्तै यस दिन सबै भन्दा धेरै विकास बैंक समूहका लगानीकर्ताले कमाएका छन् ।