Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

साझा पार्टीसँग एकीकरण गरेर गल्ती भयो : मिलन पाण्डे

साझा पार्टीसँग एकीकरण गरेर गल्ती भयो : मिलन पाण्डे

  • सोमवार, मंसिर ६ २०७८

  • 564
    SHARES

  • साझा पार्टीसँग एकीकरण गरेर गल्ती भयो : मिलन पाण्डे

    काठमाडौँँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले साझा पार्टीसँगको एकीकरण गल्ती भएको बताउनुभएको छ । पार्टी एकीकरणको समयमा बाहिरै बसेकाहरुले नयाँ दल दर्ता गरेपछि बधाई दिँदै उहाले त्यो समयमा साझासँग एकीकरण गरेर गल्ती भएको स्वीकार गर्नुभएको छ ।

    पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत सबै सदस्यको स्वीकृतिबिना पार्टी एककिरण गर्नु गलत भएको भन्दै माफीसमेत माग्नुभएको छ । पाण्डेले लेख्नुभएको छ, ’गत मंसिरमा विवेकशील र साझा पार्टीको एकीकरण हुँदै गर्दा तपाईँहरूले ’गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समावेशिता’ मा अर्को पक्षको विश्वास गर्न सकिँदैन भन्नुभएको थियो । दस्ताबेजमा यही शब्द किटान गर्न भन्नु भएको थियो । त्यहाँ तपाईँहरू सही साबित हुनुभयो ।’

    निर्वाचन आयोगले आइतबार अजिता राई पक्षको नेपाल विवकेशील पार्टी दर्ता भएको प्रमाण पत्र दिएको छ । त्यससँगै प्रतिक्रियादिँदै पाण्डेले भन्नुभएको छ, ‘तपाईंहरूलाई पार्टी दर्ताका निम्ति धेरै–धेरै बधाई छ । तपाईंहरूले सुसंस्कृत राजनीति, वैकल्पिक राजनीति र विवेकशील आन्दोलनलाई न्याय गर्नुहुनेछ र नेतृत्व गर्नुहुनेछ भन्ने विश्वास छ ।’

    विवकेशील र साझा पार्टीबीच एकीकरण हुँदा तत्कालीन उपाध्यक्षसहित १३ जना एकीकरण प्रक्रियामा सहभागी नहुने भन्दै तटस्थ बसेका थिए ।

    ’लप्पनछप्पन’ नजान्दा वैकल्पिक राजनीतिमा अहिलेको परिस्थिति उत्पन्न भएको उहाँले बताउँनुभएको छ । ‘हामी सुसंस्कृत विवेकशील राजनीति गर्दै थियौँ, यसरी लप्पनछप्पन गर्ने कुरा सोच्न सक्ने कुरा भएन’ पाण्डेले भन्नुभएको छ, ‘आखिर राजनीति विश्वास न हो । हामीले विश्वास गर्यौँ ।’ उहाले अगाडि भन्नुभएको छ, ‘आज दुःखको कुरा के भयो भने सु–संस्कृत राजनीतिमा अर्को पक्षले लेखेकै र भएकै सहमति मान्नु मेरो गल्ती भयो भन्नुपरेको छ । आज वैकल्पिक राजनीतिमा लप्पनछप्पन नजान्दा यो परिस्थिति आएको हो ।’

    स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी तथा धर्मनिरपेक्षतामाथि जनमतसंग्रहको माग राख्दै अध्यक्ष रवीन्द्र मिश्रद्वारा तयार पारिएको दस्ताबेज केन्द्रीय समितिबाट अनुमोदन भएपछि संयोजक पाण्डे पक्ष असन्तुष्ट बनेको छ ।

    अध्यक्ष मिश्रले आफ्नो पक्षको सबै शक्ति आफूमा केन्द्रित गर्ने, आफ्नो व्यवस्थाविरोधी दस्ताबेज पारित गर्ने र संवाद समिति आफूअनुकूल बनाएर पश्चगामी शक्तिहरुसँग तालमेल गर्ने बाटोमा हिँडेको संयोजक पाण्डेले आरोप लगाउनुभएको छ ।


    सोमवार, मंसिर ६ २०७८१२:४४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij