काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग गरेर मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको राजधानी काठमाडौँलाई नमुनायोग्य बनाउन विद्युतीय सवारी साधन सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले पेट्रोलियम पदार्थले मुलुकमा थोपरेको भारलाई कम गर्न, वायु प्रदूषण कम गरी स्वच्छ र सफा काठमाडौँ बनाउन पनि विद्युतीय सवारी साधनको प्रयोग अति आवश्यक भएको स्पष्ट पार्नुभयो । आज काठमाडौँको स्वयम्भूमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको आत्मनिर्भरताको निम्ति, काठमाडौँ उपत्यकालाई नमुनायोग्य बनाउनका लागि स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग अति उपयोगी हुने स्मरण गराउनुभयो ।
राष्ट्रपति भण्डारीले काठमाडौँ उपत्यकामा बढिरहेको प्रदूषणलाई कम गर्न इँटा भट्टाहरूमा पनि विद्युतीय ऊर्जाहरूको उपयोग गर्न ढिलाइ गर्न नहुनेमा जोड दिनुभएको छ । उहाँले सिमेन्ट उद्योगहरूमा विद्युतीय ऊर्जाको प्रयोग गरेर पनि नेपाललाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ अघि बढाउन सकिने धारणा राख्नुभयो । राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको चपेटाबाट मुलुकलाई जोगाउन पनि हामीसँग रहेका सम्पदाहरूको परिचालन गर्न आवश्यक रहेको बताउनुभयो ।