काठमाडौँ । कर्णाली प्रदेशमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ । शाहीको समर्थनमा २० जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन् ।
गठबन्धनका तीन दलका सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न शाही प्रदेश प्रमुखको कार्यालय पुग्नुभएको थियो ।
केन्द्रीय गठबन्धन अनुसार नै कर्णालीमा कांग्रेसबाट मुख्यमन्त्री बन्न लागेका शाहीलाई माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले समर्थन दिएका छन् । कर्णालीमा माओवादी केन्द्रका ११, कांग्रेसका ६ र एकीकृत समाजवादीका ३ प्रदेश सभा सदस्य छन् । हाल कायम ३५ प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि १८ मत आवश्यक पर्दछ ।
प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले आज साढे ७ बजेसम्मको लागि सरकारको दाबी गर्न समय दिनुभएको थियो । सरकारको दाबी गरेपछि आज नै शपथ हुनसक्ने कांग्रेस सांसद दिनबन्धु श्रेष्ठले बताउनुभयो । मुख्यमन्त्रीसहित अन्य मन्त्रीले शपथ लिने बारे हालसम्म निर्णय नभएको श्रेष्ठले जानकारी दिनुभएको छ ।
हिजो मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पदबाट राजीनामा दिनुभएको थियो ।