काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफू ‘सम्मानजनक बहिर्गमन’को पक्षमा रहेको सन्देश दिएपछि उहाँको राजीनामा माग्दै आन्दोलनमा रहेका न्यायाधीशहरु अलमलमा परेका छन् ।
आफ्नो राजीनामा माग्दै आन्दोलनरत न्यायाधीशहरुलाई सर्वोच्चकै न्यायाधीश मनोजकुमार शर्मामार्फत राणाले आज ‘सम्मानजनक बहिर्गमन’ हुन चाहेको सन्देश पठाउनुभएको थियो ।
तर राणाले पठाएको ‘सम्मानजनक बहिर्गमन’को प्रस्तावबारे प्रष्ट नभएपछि न्यायाधीशहरु अलमलमा परेका हुन् । राणाको प्रस्तावलाई कतिपयले राजीनामा आउन सक्ने रुपमा बुझेर टिप्पणी गरेका छन् ।
तर सर्वाेच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने प्रधानन्यायाधीश राणा संवैधानिक पद्धतिभन्दा बाहिरबाट कुनै निर्णय नलिने पक्षमा अडिग रहेको बताउनुभयो । जबराको प्रस्तावबारे प्रष्ट्याउँदै दाहालले कार्यकाल पूरा नगरी अपमानित ढंगले नजाने बरु सम्मानजनक रुपमा भएका कमि कमजोरीलाई सुधार्दै पूरा कार्यकाल काम गरेर जाने कुरामा उहाँ अडिग रहेको बताउनुभयो ।
आज प्रधान्यायाधीश राणाको सम्मानजनक बहिर्गमनको प्रस्तावबारे न्यायाधीशहरुबीच छलफल भएको छ । राणाले प्रस्ताव गरेको ‘सम्मानजनक बहिर्गमन’बारे प्रष्ट हुन र कुरा गर्न न्यायाधीश सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको तीन सदस्यीय वार्ता टोली पनि बनाइएको छ ।
तीन सदस्यीय वार्ता टोलीले प्रधानन्यायाधीश राणासँग आज अनौपचारिक छलफल पनि गरेको सर्वाेच्चका प्रवक्ता दाहालले बताउनुभयो । यद्यपि छलफलमा के भयो भन्ने विषय आफ्नो जानकारीमा नरहेको उहाँले बताउनुभयो ।
यता नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने प्रधानन्यायाधीश राणाको राजीनामाबाट पछि नहट्ने घोषणा गर्नुभएको छ ।
राणाको राजीनामा माग्दै बारले आज सर्वाेच्च अदालतमा कालोपट्टी बाँधेर धर्ना दिएको थियो । अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा न्यायालय सुधारको प्रस्थान बिन्दु रहेको बताउनुभयो ।
यस्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले अब चोलेन्द्र शमशेरलाई प्रधानन्यायाधीश मानिरहनु पर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले न्यायालयमा बेथिति ल्याउने र भागबण्डामा सामेल हुने काम राणाबाट भएको बताउनुभयो । उहाँले नेपाल बारले राजीनामा मागिसकेपछि दिन्नँ भन्ने तपाईँ को हो भन्दै प्रधानन्यायाधीश जबरालाई प्रश्न गर्नुभयो ।
नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा माग्दै धर्ना दिइरहेका बेला वकिलहरुको अर्काे एक समूहले हड्तालकारी न्यायाधीशहरुलाई काममा फर्किन दबाब दिँदै छुट्टै प्रदर्शन गरेको थियो ।
नेपाल बारले कालोपट्टी बाँधेर धर्ना थियो भने वकिलहरुको अर्काे समूहले सेतोपट्टी बाँधेर प्रदर्शन गरेको थियो । रामशाहपथमा देखिएको यो रमिताले न्यायालयप्रतिको जनविश्वासलाई संकटमा धकेलेको छ ।